- अमर काफ्ले

मुलुकभरका विभिन्न भेगमा रहेका पर्यटकीय गन्तब्य स्थललाई सूचिकृत गरी प्रर्वद्धनमा सरकारले प्याकेजको तयारी गरिरहँदा पूर्वकै ठुलो जलाशय बर्जु ताल ओझेलमा पर्यो ।पौराणिक ग्रन्थ महाभारतका ५ पाण्डवसँग प्रशंग जोडिने ताल सरकारी उपेक्षामा परेपछि स्थानीय तह आफैं संरक्षणमा जुटेको छ ।इक्षा शक्ति भए अरुको मुख ताक्नु पर्दैन भन्ने उदाहरण बनेको बर्जु ताल गाउँपालिकाको पहलमा सिंगारिएको मात्रै छैन् । सरकारी उपेक्षाका बाबजुत पूर्वको आर्कषक गन्तब्य बन्ने तर्फ उद्यत देखिएको छ ।

सुनसरीको दक्षिणवर्ती बर्जु गाउँपालिकामा पर्छ बर्जु ताल । १ सय ५० बिगाह क्षेत्रफलमा फैलिएको यस तालको करिव सय बिगाह क्षेत्रमा जलाशय छ ।हिंउदमा साइबेरियाबाट जाडो छल्न आउने चरा कोशी टप्पु हुँदै बर्जु ताल पुग्ने गर्छन् । यहाँ विभिन्न प्रजातिका पुतली समेत पाइने गर्छन् ।सरकारी सूचीमा मुलुकभरका एक सय गन्तब्य छनौटमा परे । प्रदेश एकका १६ पर्यटकिय क्षेत्र नयाँ गन्तब्यमा समावेश हुँदा पर्यटनको प्रचुर सम्भाव्यता बोकेको बर्जु ताल भने अटाएन् ।ब्यवस्थापन समितिको खिचलो र राजनितिक द्वन्द्वको चेपुवाका कारण लगभग अस्थित्वनै संकटमा पुगेको तालले यतिबेला भने पुर्नजीवन पाएको छ ।

जलाशय सुकेर चरन क्षेत्र बनिसकेको ताललाई २०७३ सालमा ३ करोड ६३ लाखको लागतमा नेपाली सेनाले सरसफाई र मर्मत गरेको थियो । सोही पहलले यतिबेला तालको गुम्दो सौन्दर्यलाई पहिलाकै अवस्थामा फर्काउन मद्यत पुर्याएको छ ।जसलाई थप सिंगारने काम यतिबेला बजुँ गाउँपालिकाको कार्यालयले गरिरहेको छ ।गाउँपालिकाको कार्यालयले तालको संरक्षण सहित पर्यटन, प्रवद्धनको उद्देश्यलाई साकार बनाउन रणनैतिक योजनानै पास गरेको छ । करिव ४० लाख रकम खर्चेर ताल क्षेत्रमा यतिवेला विभिन्न संरचना निर्माण थालिएको छ । प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता ताललाई हराभरा र आकृर्षणको केन्द्र बनाउन कुनै कसर बाँकी नराख्ने बताउँछन् । चिल्ड्रेन पार्क, बगैंचा, पिकनिक स्थल, नौका विहार, वृक्षारोपण सहित आवतजावतमा सहजताकालागि सडक स्तरोन्तरी लगायतका कार्यहरु थालिएको मेहताले जानकारी दिए ।

प्रशासकीय अधिकृत मेहताले भने “संघीय सरकारको प्राथमिकतामा परेको भए तालको संरक्षण र प्रवद्धनको क्षेत्रमा धेरै काम हुन सकथ्यो । परेन भनेर चुप लागेर बस्दैनौं, भएको स्थानीय स्रोत साधन र प्रदेश सरकारसँगको समन्वयमा गाउँपालिकाको कार्यालयले बर्जु ताललाई पूर्वकै नमूना र आर्कषक गनतब्यका रुपमा चिनाउन हरसम्भव प्रयत्न गर्ने छ ।”ताललाई दुई भागमा विभाजन गरेर नौका विहारका लागि डुंगा राखिएका छन् । तालको बीचभागमा मन्दिर समेत निर्माण गरिएको छ ।

पिकनिक खाने, विद्यार्थीकालागि अवलोकन भ्रमण स्थल र मनोरम वातावरणमा घुम्न रुचाउने आन्तरिक पर्यटककालागि बर्जु ताल क्रमशः आर्कषक गन्तब्य बन्दै गएको छ ।सरकारले प्राथमिकतामा नराख्दा पूर्वकै ठूलो जलाशय गुमनाम भएको महसुस गरेको गाउँपालिकाले आफ्नै पहलमा तालको संरक्षण र प्रर्वद्धनको जिम्मेबारी बहन गरिरहेको छ । जसलाई कुनै हालतमा पनि नमूना बनाई छाड्ने गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले अठोट लिएको बताए । चौधरीले आफ्नो र गाउँपालिकाको तहबाट हुने सबै स्रोत साधन जुटाएर ताललाई हराभरा र पर्यटनकालागि आर्कषक गनतब्य बनाउन कुनै कसर बाँकी नराखिने बताए । स्थानीयको प्रयास देखेर अर्को पटक सरकारले बर्जु तालकोे विषयमा ठोस निर्णय लिने समेत उनले विश्वास व्यक्त गरे ।

बर्जु आफैंमा सिमसार क्षेत्र हो । जहाँ विभिन्न प्रजातिका पुतली र चराका कारण समेत ताल आन्तरिक सहित वाह्य पर्यटनकालागि आर्कषणको केन्द्र बन्न सक्दछ । चिल्ड्रेन पार्क सहितको थप नयाँ संरचना सहितको बन्दोवस्तीले समेत बर्जुतालको सौन्दर्यतालाई बढाएको छ गाउँपालिकाको कार्यालयले ताल लक्षित गरी थालेका पूर्वाधार र संरचना निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

बर्जु तालको प्रशंग धार्मिक ग्रन्थ महाभारतसँग जोडिएको पाइन्छ । प्राचिन बिराट राजाको दरबार, गौशाला, गाई चरन क्षेत्रसँगै वनवास गएका पाण्डवले यही बर्जु तालको पानी पिएको किम्बदन्ती रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia