२१ माघ, राजविराज। संघीय व्यवस्था अन्तर्गतको प्रदेश २ को प्रदेश सभाको पहिलो बैठक जनकपुरमा आइतवार सम्पन्न भएको छ। बैठकमा लोकतान्त्रिक आन्दोलनका शहिदहरुको तस्विर राखिए पनि मधेश आन्दोलनका शहिदहरुको तस्विर नराखिएकोले बैठक केहीबेर अवरुद्ध भएको थियो।

राष्ट्रिय गान पश्चात बैठक शुरु हुनासाथ राष्ट्रिय जनता पार्टी नेपालका सांसद मनिष कुमार सुमनले आक्रोश व्यक्त गर्दै विरोध जनाएका थिए । यस्तै राजपाकै सांसद डा. डिम्पल कुमारी झाले मधेश आन्दोलनका शहिदहरुको तस्विर नराखिए सम्म बैठक सुचारु हुन नदिने अडान राखेका थिए । बैठक अवरुद्ध गर्न नपाईने भन्दै नेकपा एमालेका सांसदहरुले भने बैठक अवरुद्ध गर्न मिल्दैन भन्दै आपत्ति जनाएका थिए । यद्यपी सभामुख चयन नभईसकेको अवस्थामा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सांसद लगनलाल चौधरीले मधेशी शहिदहरुको तस्विर राख्ने व्यवस्था मिलाउन आदेश गरेपछि प्रदेश सभाको बैठक शुरु भएको थियो ।

बैठकमा संघीय समाजवादी फोरम नेपालका सांसद लालबाबू राउत, साबित्री देवी साह, राजपाका सांसद जितेन्द्र सोनल र स्वतन्त्र सांसद शेख अब्दुल कलामले हिन्दी भाषामा मन्तव्य व्यक्त गरेका छन् । यसैगरी नेकपा एमालेका सांसद सत्यनारायण मण्डल, नेपाली कांग्रेसका सांसद रामसरोज यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साह र नेकपा एमालेका सांसद शत्रुध्न महतोले मैथिली भाषामा मन्तव्य व्यक्त राखेको जनकपुरका पत्रकार घनश्याम मिश्रबाट जानकारी प्राप्त भएको छ । प्रदेश सभाको दोश्रो बैठक माघ २९ गते १ बजे बस्ने जनाईएको बैठकमा सहभागी प्रदेश सांसद शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् । उनको अनुसार सभामुख र उप–सभामुखको चुनाव भने फाल्गुन २ गते हुनेछ । १३ सदस्यीय कार्यव्यवस्था समितिको अनुमोदन गर्दै बैठक सम्पन्न भएको उनले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया